काठमाण्डौ  ।  सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। 

प्रसाइलाइ प्रहरीको टोलीले भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरेको हो । अहिले प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ। निवास परिसरबाट उनलाई निकाल्दै गरिएको एक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा प्रसाईंले केही बोलेको सुनिन्छ । उनले आफू गाडी चढ्दै गरेको खिच्न कसैलाई भनिरहेको सुन्न सकिन्छ । प्रसाइले  मङ्सिर ७ देखि आन्दोलनको घोषणा गरेका थिए। 

सोमबार मात्रै पनि प्रसाईंले भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखाएकाले पूर्वघोषित आन्दोलन नरोकिने बताएका थिए। प्रसाईंले जेनजीले उठाएका मुद्दामा भन्दा वर्तमान सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाएका थिए । 

आफूहरूले अघि सारेका एजेन्डाका बारेमा जनमत सङ्ग्रह गर्नुपर्ने उनको भनाइ थियो । प्रसाईं नेतृत्वको समूहले हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितको एजेण्डा अघि सार्दै आएको छ । उनको मागका सम्बन्धमा कात्तिक २६ गते गृह मन्त्रालयमा वार्ता समेत भएको थियो । तर उक्त वार्ता निष्कर्षविहीन भएको थियो ।