जनकपुर—  हरिहरक्षेत्र मिथिला चौरासी कोष संकिर्तन परिक्रमा टोली जनकपुरधाम आउने भएको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरमा पत्रकारसम्मेलन गर्दै जानकी मन्दिरुका छोटे महन्त राम रोशन दासले उक्त परिक्रमा टोली जनकपुरधाम आउने पक्का भएको जानकारी दिए ।

महन्त दासका अनुसार कार्तिक २९ गतेदेखि सुरु हुने पाँच दिवसीय संकिर्तन परिक्रमा प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा पनि आउने भएको छ । भारतको बिहारको हाजीपुर स्थित हरिहर क्षेत्रबाट शुरु हुने लागेको संकिर्तन परिक्रमा सोही दिन जनकपुरधाम आइपुग्नेछ । 

शनिबार दिउँसो दुई बजे महोत्तरीको भारतसँग जोडिएको सिमाना भिठ्ठामोड आइपुग्ने र त्याहाँ भव्य स्वागत गरिने महन्त दासले बताए ।

त्यहाँबाट जानकी मन्दिरको अगुवाइमा साधुसन्तहरुको टोलीले उनलाई स्वागत गर्दै जनकपुरधाम ल्याउनेछ । परिक्रमामा सहभागीलाई जानकी मन्दिर तथा नागरिक समाजद्वारा भव्य स्वागत गरी नगरदर्शन गराउने लगायतका कार्यक्रमहरु रहेको महन्थ दासले जनाएका छन् । उनका अनुसार नगर दर्शनपछि साँझपख दीप प्रज्वलन, सांस्कृतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरिनेछ ।

जनकपुरधामपछि ती परिक्रमा टोली भारत बिहारको दरभंगा, अहिल्यास्थान, पातरपुर, सिमरिया र विशौल हुँदै पुनः हाजीपुर पुगेर एक दिने विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न हुने छ । सो परिक्रमा टोली नेपाल भारत मिथिला क्षेत्रका ७ सयभन्दा बढी साधुसन्त, धर्मगुरु सहित श्रद्धालु भक्तजनहरुको सहभागिता रहनेछ ।

जनकपुरधामबाट समेत परिक्रमा टोलीमा साधुसन्त र श्रद्धालुहरु सहभागी हुन चाहेमा जानकी मन्दिर र विश्वहिन्दु परिषदद्वारा व्यवस्थापन गर्न सकिने महन्त दासले बताए ।