काठमाडौं— हालसम्म ५६ हजार ६ सय ७३ जना काठमाडौं महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् ।
यसमा १३ हजार ५ सय ७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति रहेका छन् ।
महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गर्दै यस सम्बन्धी जानकारी दिएको हो । यस वर्ष १ लाख ९४ हजार १ सय ९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । त्यसमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका छन् ।
महानगरपालिकाको स्वास्थ्य विभागले गरेको वार्षिक समीक्षा अनुसार यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण गरिए भने १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको छ ।
१ हजार ८७ जनाको विपन्न नागरिक उपचार सिफारिस हुँदा वेवारिसे, विपन्न र वेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरिएको छ ।
यस्तै, नसर्ने रोग स्क्रिनिङ् महाअभियान अन्तर्गत २६ हजार १९ जनाको जाँच गरियो । किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ् कार्यक्रममा २ हजार ३ सय किशोरीहरुको परीक्षण गरियो । १ हजार २२२ पिन्ट निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराइयो ।
आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा अनुसार यस वर्ष वडा नम्बर १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स रे सेवा प्रारम्भ गरियो । महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गरिएको छ ।
३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवा समेत सञ्चालन गरिएको थियो । यी केन्द्रसँगै महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, १ वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपङ्चर सेवा छन् ।
यसै वर्षदेखि ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घ रोगका उपचारका लागि प्रयोग गरिने औषधिहरुको लगत संकलन थालनी गरिएको छ । २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइएको छ ।
पर्व र विभिन्न अवसर पारेर २५ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर करिब १५ हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा र परामर्श प्रदान गरिएको छ । डेङ्गी रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालन समेत गरिएको छ ।
यस वर्ष खोप सेवा प्राप्त गर्नेहरुको संख्या १६ हजार १८८ जना रहेको छ । स्वयम् सेविका मार्फत ५९ हजार ६२० जनाले सेवा प्रदान गरिएको तथ्यांक छ । १० वर्षदेखि १९ वर्षसम्म उमेर समूहका किशोर किशोरी पोषण कार्यक्रमका लक्षित वर्गको संख्या ७३ हजार ८९२ जना थियो ।
यस समूहका किशोरीहरुलाई आइरन र फोलिक एसिड वितरण गरियो । एक वर्ष अवधिमा १३ हजार ६६० जना शिशुको जन्म भएको तथ्यांक छ । शिशुको सुरक्षित जन्मका लागि गर्भवती आमालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सुत्केरी आमालाई भिटामिन ए र आइरन चक्की प्रदान गरियो । यस्तै उहाँहरुलाई उत्तर प्रसुति जाँच सेवा प्रदान गरियो ।
खोप अभियानअन्तर्गत २०७३ साल बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाहरुका लागि ओरल पोलियो भ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको थियो । २०८१ जेठ १३ गतेदेखि १९ गतेसम्म चलेको कार्यक्रममा २ लाख ३६ हजार १७२ जना बालबालिका अनुमान गरिएकोमा २ लाख १४ हजार १६५ जना अर्थात् ९० दशमलव ६८ प्रतिशतलाई खोप दिइएको छ ।
पाँच वर्ष मुनिका बालबालिकाहरुमा हुने रोग नियन्त्रणका लागि ६६ हजार ५१९ जना लक्षित बालबालिका थिए । एमोक्सिसिलिनबाट ११४ जनाको उपचार गरियो । १ हजार ९९१ जना बालबालिका पखालाका कारण उपचारका लागि भर्ना भएकोमा १ हजार ९५६ जनालाई जिङ्क र ओरल रिहाइड्रेसन थेरापीबाट उपचार गरिएको छ ।
प्रजनन उमेरका महिलाहरुका लागि गरिएको क्यान्सर परीक्षण शिविरमा ३ हजार १६ जनाको नाम दर्ता भएको थियो । त्यसमध्ये ६७० जनाको मेमोग्राम गरियो । ३७० जनाको स्तन परीक्षण गरिएको छ । पाँच जनाको स्तनको वायोप्सी गरिएको थियो । त्यसमा १ जनामा क्यान्सर देखिएको विभागले जनाएको छ ।
सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ६ हजार १७५ जना छात्र र ५ हजार ४६२ जना छात्रा गरी ११ हजार ६३७ जनाको आँखा परीक्षण गरिएको थियो ।
नसर्ने खालका रोगको कारण थाहा पाउन १९ हजार २७७ जनामा धुम्रपान र मद्यपान सेवनको सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा सहभागीमध्ये ८ दशमलव ४ प्रतिशतले नियमित सेवन गर्ने गरेको पाइएको छ । ७८ दशमलव ६ प्रतिशतले कहिल्यै सेवन नगरेको बताए । यस्तै २३ दशमलव १ प्रतिशले कहिलेकाहीँ मद्यपान सेवन गर्ने गरेको बताए । ६८ दशमलव ५ प्रतिशतले कहिल्यै मद्यपान नगरेको बताए ।
यस आर्थिक वर्षका लागि महानगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि ९० करोड ५१ लाख ५७ हजार ३ सय रुपैंयाँ बजेट विनियोजन गरेको थियो । यसमा आन्तरिक स्रोतबाट ७८ करोड २१ लाख ८ हजार ८ सय रुपियाँ , नेपाल सरकारबाट प्राप्त ९ करोड ३८ लाख ६८ हजार ५ सय रुपियाँ र प्रदेश सरकारबाट प्राप्त २ करोड ९१ लाख ८० हजार रुपैंयाँ थियो ।
यसरी विनियोजित रकममध्ये आन्तरिक स्रोततर्फ ५५ दशमलव ६४ प्रतिशत वित्तीय प्रगति र ७६ प्रतिशत भौतिक प्रगति भएको छ । नेपाल सरकारबाट प्राप्त रकमको बित्तीय प्रगति ९३ दशमलव २६ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ । प्रदेश सरकारबाट प्राप्त रकमको वित्तीय प्रगति ९६ दशमलव ५१ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ ।
कुल विनियोजित रकमको वित्तीय प्रगति हेर्दा ६५ दशमलव ८६ प्रतिशत प्रगति भएको छ ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        