काठमाण्डौ । मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईले सरकारले आफूलाई वार्ताका लागि आधिकारिक रूपमा बोलाएको खण्डमा त्यसको स्वागत गर्ने बताएका छन् ।
उनले जनताको आवाज सुन्ने कदमलाई सकारात्मक भन्दै अहिलेको सरकारले जिम्मेवारीबोधका साथ पहल गरेको मूल्यांकन गरेका हुन् । सामाजिक सञ्जालमार्फत प्रसाईले भने,“सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन हो।”
प्रसाईंले,“वार्ता गर्न बोलाउनु मात्र पर्याप्त होइन। राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ।” उनले यसअघि घोषणा गरे अनुसार, आन्दोलनको तयारी जारी रहेको जनाएका छन्।
शनिबार प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू बैठक बसेको थियो । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न समूहहरुले राखेको राजनीतिक मागहरुबारे सम्बोधन गर्नका लागि संवादको ढोका खुला राखेको र उनीहरु सँग वार्ता गर्दै संवादबाटै समस्याको समाधान गर्ने बताएका थिए ।







































