सर्लाही । सशस्त्र प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका-९, रवि चोक नजिकबाट शंकास्पद विलविजकसहित नास्पाती बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ।
शनिबार सशस्त्र प्रहरी बल नेपालको विशेष अनुगमन टोलीले म.प्र.०३.००२ ख ३६४१ र प्र.१.०१.००१ ख ४४०१ नम्बरका ट्रकमा लोड गरिएको करिब ३२ लाख ८९ हजार रुपैयाँ बराबरको नास्पाती बरामद गरेको हो।
प्रहरीका अनुसार उक्त नास्पाती भारततर्फ लैजाने तयारीमा रहेको सूचनाका आधारमा निगरानी बढाइएपछि ट्रकहरू पक्राउ गरिएको हो। विलविजक (बिल तथा विजक) शंकास्पद देखिएपछि चालक देव श्रेष्ठ र भिम बहादुर उप्रेतीलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
पक्राउ परेका व्यक्ति, नास्पाती र ट्रकसहितको सम्पूर्ण सामग्री थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद दुई ट्रक र नास्पातीसहित वस्तुको कुल भन्सार मूल्य करिब ८२ लाख ८९ हजार रुपैयाँ निर्धारण गरिएको बताइएको छ।
भर्खरै मात्र सर्लाहीबाट तस्करि भएको सुपारि भारतमा पक्राउ परेको थियो । सुपारी तेस्रो मुलुकबाट नेपालमा आयात गरी नेपालमै उत्पत्ति भएको भन्दै भारततर्फ सर्लाहिबाट तस्करी हुँदै आएको थियो ।
सर्लाहीको नारायणपुर, बहादुरपुर र मलगंवाबाट सुपारी तस्करी हुने गरेको छ । नेपालबाट तस्करी गरी पठाइएको १ करोड भारु बराबरको सुपारी बिहारको सीतामढी जिल्ला मेजरगंज थाना एसएसबीले बरामद गरेको थियो । नेपालबाट तस्करी गरी पठाइएको ३ वटा ट्रक र २ वटा पिकअपमा लोड गरिएको १९६ बोरा सुपारी समेत ३ जनालाई एसएसबीले पक्राउ गरेको थियो ।
इन्डो नेपाल सीमासँग जोडिएको मेजरगंजमा गत सोमबार बरामद भएको भारतीय पत्रिका प्रभात खबरमा समाचार थियो ।