काठमाडौं— काठमाडौं महानगरपालिकाले नेपाल स्काउटको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर नयाँ 'महानगर अस्पताल' निर्माण गर्ने योजना अघि बढाएको छ। शुक्रबार बसेको बोर्ड बैठकमा यस विषयमा प्रस्ताव पेस गरिएको हो।
बैठकमा नेपाल स्काउटले उक्त जग्गा भाडामा दिन सैद्धान्तिक सहमति जनाइसकेको जानकारी दिइएको छ। तर बैठकमा भाग लिएका केही सदस्यहरूले भने महानगरपालिका अहिले आफैँ भाडामा बसिरहेको अवस्थामा अर्को भाडाको जग्गामा लगानी गर्नु उपयुक्त नहुने तर्क गर्दै आपत्ति जनाएका थिए। साथै, स्काउटको जग्गालाई खुला क्षेत्रको रूपमा जोगाइराख्नु पर्ने सुझाव पनि बैठकमा उठेको थियो।
नेपाल स्काउटको केन्द्रीय कार्यालयसँग रहेको यो जग्गा विगतमा पनि विभिन्न प्रयोजनका लागि भाडामा दिइएको थियो। पार्टी प्यालेसजस्ता संरचना सञ्चालनमा आए पनि भाडा नउठेपछि काठमाडौं महानगरले हस्तक्षेप गरी ती संरचनाहरू हटाएको थियो।