रामेछाप । मानसिक समस्याका कारण एक महिनादेखि कोठामा थुनिएका रामेछापको खाँडादेवी गाउँपालिका–२, चुल्ठेपानीका २३ वर्षीय दिनेश बुढाथोकीको मङ्गलबार उद्धार गरिएको छ ।

मानव सेवा आश्रम, काठमाडौंबाट आएको टोलीले स्थानीय पालिका र वडा कार्यालयको सहयोगमा बुढाथोकीलाई उद्धार गरी उपचारका लागि काठमाडौँ लगेको हो । बुढाथोकीको मानसिक समस्या नियन्त्रण भन्दा बाहिर पुगेपछि परिवारले सुरक्षाका दृष्टिले उनलाई फलामको बार लगाइएको कोठामा थुनेर राख्न बाध्य भएको थियो ।

खाँडादेवी गाउँपालिका–२ का वडा अध्यक्ष केशवकुमार प्रधानका अनुसार दिनेश विगत एक महिनादेखि त्यही कोठामा बन्द अवस्थामा थिए । ‘उनी मानसिक समस्याबाट पीडित थिए र परिवारका सदस्यलाई देख्ने बित्तिकै आक्रमण गर्ने गर्थे, त्यसैले परिवारले असुरक्षा महसुस गर्दै उनलाई फलामको ग्रील भएको कोठामा राख्न बाध्य भयो’, उनले भने । 

दिनेशका ८१ वर्षीय पिता यमबहादुर बुढाथोकीले छोराको उद्धारसँगै फेरि उपचारको आस पलाएको बताए । ‘हामीले सके जति उपचार गर्यौँ, तर केही भएन, अब निको हुने आशा पलाएको छ’, उनले भने । 

दिनेशकी भाउजू मनीषा बुढाथोकीका अनुसार २०७२ सालको भूकम्पपछि उनलाई मानसिक समस्या देखिन थालेको हो । पछिल्ला ६ महिनादेखि चिकित्सकले दिएको औषधिले समेत काम नगरेपछि परिवारको सुरक्षाका लागि उनलाई कोठामै थुनेर राख्नु परेको हो । 

‘अस्पताल मात्रै होइन, धामी–झाँक्री सबै ठाउँ धायौँ, तर निको भएन, तीन वर्षभन्दा बढी सुधार गृहमा राखेर पनि उपचार गरियो, तर केही सुधार देखिएन’, दिनेशकी भाउजु मनिषाले भनिन् । उनका अनुसार पछिल्ला महिनामा औषधिले असर गर्न छाडेपछि दिनेश अत्यन्त आक्रामक बन्दै गएका थिए ।  त्यसैले उनलाई थुनेर राख्नु परेको थियो । 

खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार दिनेशलाई फलामको ग्रील र शौचालयसहितको कोठामा थुनेर राखिएको अवस्थामा उद्धार गरिएको हो ।

‘पालिकाको पहलमा मानव सेवा आश्रम, काठमाडौँले उद्धार गरेको हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘आश्रमबाट तीन जनाको टोली मङ्गलवार गाउँमा पुगेर उनलाई उद्धार गरेको हो ।’

उद्धारपछि बिरामीको उपचारका लागि तत्कालका लागि गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताए । मनोजको उपचार हुने भएपछि आमा बाबु र परिवारका सदस्यले खुसी व्यक्त गरे ।