सुर्खेत— फिरन्त जीवन जिउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश व्यक्ति बिरामी परेका छन् । लेकबेशी नगरपालिका–८ मा बस्दै आएका राउटे समुदायमा पछिल्लो एक हप्तामा २५ जना बिरामी छन् । अस्पतालमा गएर उपचार गर्न नमान्ने राउटे समुदामा बिरामीको संख्या बढ्दै गएपछि समस्या देखिएको छ ।
सुरुमा दुई जना बिरामीबाट सुरु भएको संक्रमण २५ जनामा फैलिएको राउटेकी उपचारमा खटिएका स्वास्थ्यकर्मी अनुजा पन्तले बताइन् । बस्तीमा बिरामी पर्ने राउटेको संख्या दिनहुँ बढ्दै गएको उनको भनाइ छ ।
बिरामीहरुलाई अत्यधिक ज्वरो आउने, खाना नखाने तथा आलस्य बढ्ने भए पछि बिरामी राउटेहरु थला परेका छन् । डेंगुलगायतका अन्य स्वास्थ्य परिक्षणमा मन नगर्ने राउटेहरुलाई प्राथमिक उपचारमा सीमित राख्नु परेको उनको भनाइ छ ।
‘राउटे बस्तीमा ज्वरोको संक्रमण बढ्दो छ । २५ जनाभन्दा बढी बिरामी परेका छन्,’ स्वास्थ्यकर्मी पन्तले भनिन्, ‘तर राउटेहरू डेङ्गुलगायत रोग चेकजाँच गर्न मान्दैनन् । त्यसैले प्राथमिक उपचारमात्र गर्ने गरिएको छ ।’
अस्वस्थ जीवनशैली, मदिरा तथा सूर्तिजन्य पदार्थ सेवनका कारण राउटे समुदायका मानिसहरुमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या बल्झिँदै गएको छ ।
राउटेहरु प्रायः कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान लगायतका पहाडी जिल्लाका वन क्षेत्रमा अस्थायी टहरा बनाएर बसोबास गर्छन् ।
राउटे समुदायको संख्या लगातार घटिरहेको छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययन २०८१ को प्रतिवेदनले पनि राउटे समुदायको संख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ । प्रतिवेदनमा २०७५ सालमा १४९ रहेको राउटेको जनसंख्या हाल घटेर १३७ जनामा झरेको छ ।