डोल्पा— डोल्पाको उच्च हिमाली क्षेत्रमा लेक लागेर बिरामी परेका दुई विदेशी नागरिकको उद्धार गरिएको छ। बिहीबार शे-फोक्सुण्डो गाउँपालिका–८ अन्तर्गत रिग्मो क्षेत्र र काइके गाउँपालिकाको डोग्री हिमाल बेसक्याम्पबाट उनीहरूलाई हेलिकप्टरमार्फत उद्दार गरिएको हो।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालाका अनुसार, रिग्मोबाट उद्धार गरिएका नागरिक फ्रान्सेली हुन् भने डोग्री हिमालबाट उद्दार गरिएका अर्का नागरिक अमेरिकन हुन्। उच्च स्थानमा प्राविधिक तयारी बिना पुगेपछि लेक लाग्ने समस्या हुने भएकाले उनीहरू गम्भीर अवस्थामा पुगेका थिए।
यसअघि, बुधबार पनि शे-फोक्सुण्डो क्षेत्रमै एक विदेशी पर्यटकलाई लेक लागेपछि उद्दार गरिएको थियो। लगातार तीन दिनभित्र तीन जना विदेशी पर्यटकलाई उच्च हिमाली लेकले सताएको घटनाले डोल्पा भ्रमणमा आउने पर्यटकहरूको सुरक्षाबारे थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।