चितवन— चितवन जिल्लामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढेसँगै मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। साउन महिनादेखि हालसम्म यो रोगका कारण विभिन्न स्थानीय तहका नागरिकले ज्यान गुमाएका हुन्।
मृत्यु हुनेमा भरतपुर महानगरका दुई, राप्ती नगरपालिकाका दुई, खैरहनी नगरपालिकाका एक र कालिका नगरपालिकाका एक जना रहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। पछिल्लो पटक खैरहनी–४ की एक महिलाको मृत्यु भएको जानकारी किट नियन्त्रण महाशाखाका प्रतिनिधि राम केसीले दिए।
हालसम्म जिल्लामा १७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १० जना महिला र ७ जना पुरुष रहेका छन्। उमेर समूह हेर्दा, १५ वर्षमुनिका ३ जना, १५ देखि ६० वर्ष उमेर समूहका ५ जना र ६० वर्षभन्दा माथिका ९ जना रहेका छन्। संक्रमितमध्ये अधिकांशले खोप नलगाएको पाइएको छ, भने दुई जनाको खोप स्थिति अझै स्पष्ट भइसकेको छैन।
मृत्यु हुने व्यक्तिहरूमा ८९, ८१, ७०, ७०, ४२ र ३९ वर्ष उमेर समूहका रहेका छन्। संक्रमितमध्ये सबैभन्दा धेरै—७ जना भरतपुर महानगरका छन्।
जनस्वास्थ्य कार्यालयका प्रमुख डा। दिनेश रूपाखेतीका अनुसार यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो। “यो लामखुट्टे प्रायः घरबाहिर बस्ने, बिहान र साँझ बढी सक्रिय हुने, र धानखेत तथा अन्य जलमग्न स्थानमा अण्डा पार्ने प्रवृत्तिको हुन्छ,” उनले भने।
उनका अनुसार सुँगुर, हाँस र बङ्गुर जस्ता पशुहरूलाई टोक्दा लामखुट्टेमा भाइरस प्रवेश गरी त्यसपछि मानिसमा सर्ने सम्भावना उच्च हुने गर्दछ।
स्वास्थ्य कार्यालयले रोग नियन्त्रणका लागि लामखुट्टे नियन्त्रण, जनचेतना तथा खोप अभियानलाई सशक्त बनाउने तयारी गरिरहेको जनाएको छ।