काठमाडौं— भारतका केही ठाउँमा ‘कोल्ड्रीफ कफ सिरप’ सेवनपछि बालबालिकाको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले गम्भीर ध्यान दिएको छ।

औषधि व्यवस्था विभागले नेपालमा उक्त औषधि दर्ता नभएको जानकारी गराउँदै यस्ता घटना दोहोरिन नदिन सावधानी अपनाउन सबै पक्षलाई सचेत गराएको छ।

विभागका अनुसार झोल (सिरप) प्रकारका औषधिहरू बनाउन प्रयोग हुने केही कच्चा पदार्थहरूमा विषालु रसायन मिसिन सक्ने जोखिम हुने भएकाले यसअघि नै यस्तो विषयमा सूचना दिइसकिएको थियो। सन् २०७९ सालमै औषधिमा प्रयोग हुने प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, ग्लिसरिन लगायतका पदार्थहरूमा इथाइलिन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलजस्ता विषाक्त रसायन मिसिएको छ कि छैन भन्ने परीक्षण अनिवार्य गरिएको थियो।

भारतमा बालबालिकाको ज्यान गएको घटनापछि विभागले नेपालमा पनि जोखिम नहोस् भनेर औषधि बनाउने, आयात गर्ने, बिक्री गर्ने र प्रयोग गर्ने सबैलाई सावधानी अपनाउन आग्रह गरेको छ।

यसैबीच, विभागले दुई वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधि दिनुपरेमा चिकित्सकको सल्लाहमा मात्रै दिन अनुरोध गरेको छ। साथै, आम नागरिकलाई पनि चिकित्सकले सिफारिस नगरेको औषधि नदिन र औषधिको लेबल राम्रोसँग पढेर मात्र प्रयोग गर्न सुझाव दिएको छ।

विभागका अनुसार, नेपालमा औषधिको गुणस्तरमा कुनै सम्झौता नगरिने र यस्ता विषाक्त घटनाबाट जनता सुरक्षित राख्न सबै आवश्यक कदम चालिने बताएको छ।