काठमाडौं— समयानुकुल सेवासुविधा पाउनुपर्ने माग गर्दै विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा उत्रिएका छन्। पोखरा र चितवनका प्रमुख मेडिकल कलेजका नर्सहरूले सरकारले तोकेको पाँचौँ तहको तलब संरचना अनुसार तलब वृद्धि गर्न माग गर्दै एकसाथ आन्दोलन सुरु गरेका छन्।
पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ अस्पताल र मणिपाल मेडिकल कलेजका नर्सहरूले केही दिनअघि अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै तलब वृद्धि, कार्यभारअनुसार पारिश्रमिक संशोधन, अतिरिक्त समयको भुक्तानी र चाडपर्व भत्ताको सुनिश्चितता माग गरेका छन्। उनीहरूले तीन दिनभित्र माग सम्बोधन नभए शान्तिपूर्ण विरोधमा जाने चेतावनी दिएका थिए।
उक्त माग पूरा नभएपछि प्रदर्शन थालेका छन् । गण्डकी मेडिकल कलेजका नर्सहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, 'हामीले निरन्तर गुणस्तरीय बिरामी सेवा र अस्पताल सञ्चालनमा योगदान दिइरहेका छौं, तर हाम्रो तलब र सुविधा जिम्मेवारी अनुसार परिमार्जन भएको छैन। यदि माग सम्बोधन भएन भने हामी शान्तिपूर्ण आन्दोलनमा जान बाध्य हुनेछौं।'
त्यसैगरी चितवनस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेज, भरतपुर)का नर्सहरू पनि विभिन्न ४ मागसहित दशैंअघि कलेज अगाडि धर्नामा बसेका थिए। उनीहरूले तलब वृद्धि, नर्सको संख्या थप, अतिरिक्त समयको पारिश्रमिक, र चाडपर्व भत्ताको छुट्टै भुक्तानीको माग गर्दै आन्दोलन थालेका हुन्।
पोखराको मणिपाल मेडिकल कलेजका नर्सहरुले आफूहरु मेसिन नभइ नर्स भएको भन्दै कलेजअघि नाराबाजी गरेका छन् । एक आन्दोलित नर्सले भनिन्, 'हामी बिरामी र अस्पताल दुवैको हितका लागि काम गर्छौं, तर हाम्रो मेहनतअनुसार मूल्याङ्कन र पारिश्रमिक पाएका छैनौं। यसले हाम्रो काम गर्ने मनोबलमा असर पारेको छ।'