काठमाडौं— निरन्तर वर्षा र प्राकृतिक विपत्तिपछि पानीजन्य तथा कीटजन्य रोगको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकहरूलाई सचेत रहन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्राकृतिक विपद्का बेला प्रारम्भिक रूपमा देखिने चोटपटक र भौतिक क्षतिका साथै त्यसपछिका दिनहरूमा पानी र सरसफाइसँग सम्बन्धित रोगहरू देखा पर्न सक्ने भएकाले सावधानी आवश्यक छ।
'विपद्पछि खानेपानी प्रदूषित हुने सम्भावना उच्च हुन्छ,' डा. बुढाथोकीले भने, 'त्यसले पखाला, हैजा, डेङ्गी, मलेरिया जस्ता रोगहरू फैलिने खतरा निम्त्याउँछ।'
उनका अनुसार हालको अवस्थामा अस्थायी बसोबास, अपुरो सरसफाइ र पोषणको कमीका कारण खानासम्बन्धी रोग, आँखा पाक्ने समस्या तथा मानसिक स्वास्थ्यमा असर देखिन थालेको छ। यस्तो अवस्थामा शुद्ध, उमालेको पानी पिउनु, व्यक्तिगत सरसफाइमा ध्यान दिनु, र कुनै लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु सबैभन्दा प्रभावकारी उपाय भएको मन्त्रालयको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले विपद्को बेला आवश्यक परेमा एम्बुलेन्स सेवाका लागि १०२ नम्बरमा र स्वास्थ्यसम्बन्धी परामर्शका लागि १११५ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
मन्त्रालयले स्थानीय स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूमार्फत जोखिम क्षेत्रहरूमा जनचेतना फैलाउने कार्य भइरहेको जनाएको छ।