रौतहट— शनिबार साँझको आकस्मिक मौसम परिवर्तनले रौतहट जिल्लामा दुःखद क्षति पुर्याएको छ। हावाहुरीसहितको अविरल वर्षाका बीच परेको चट्याङले तीन जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीको सेवा सञ्चालनमा प्रयोग हुने उपकरणसमेत क्षति पुर्याएको छ।
साँझ करिब ६ बजे चट्याङ लागेर कटहरिया नगरपालिका–२ हंथियाहि गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए । दुवै किशोर घर बाहिर सामान्य रूपमा घुमिरहेका बेला चट्याङ लागेको कार्कीको भनाइ छ ।
यसैगरी, ईशनाथ नगरपालिका–८ मनसरी गाउँका ४५ वर्षीय शेख जमरुन (ननक) पनि आफ्नै घरको बरन्डामा बसेका अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो ।
तीनै जनाको शव राति नै पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय शिवनगरको भवनमा चट्याङ लाग्दा एउटा इन्भर्टर र १२ भोल्टको ब्याट्री जलेर नष्ट भएको प्रहरी स्रोतले बताएको छ।
मौसमविद्हरूले अझै केही दिन मौसम अस्थिर रहने चेतावनी दिएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।