काठमाडौं— नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएको छ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सरकारले पूर्वप्रधानमन्त्रीलगायत नेताहरूको राहदानी रोक्का गर्नु र देशभित्रै पनि आवतजावतमा रोक लगाउनु स्पष्ट राजनीतिक प्रतिशोध हो।'

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भएको घटनाको छानबिनका लागि गठित आयोगको सिफारिसमा सरकारले उक्त निर्णय गरेको हो। राहदानी रोक्का गरिएका अन्य व्यक्तिमा गृहमन्त्रालयका पूर्वसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल छन्।

सरकारले राहदानी विभागलाई पत्राचार गरी उनीहरूको विदेश यात्रा रोकेको छ भने स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय पनि गरेको छ।

कांग्रेसले यस्तो कदमलाई शान्ति र सुव्यवस्थाको बाटो छाडेर सरकारले प्रतिशोधको बाटो रोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ। 'दण्डहीनतालाई प्रोत्साहन र दलहरूबीच प्रतिशोधपूर्ण राजनीति नगरियोस्,' कांग्रेसले अन्तरिम सरकारलाई सचेत गराएको छ।