तनहुँ— चाडपर्व नजिकिँदै जाँदा तनहुँको दमौलीस्थित प्रदेश अस्पतालमा बिरामीको चाप एक्कासी बढेको छ। अस्पताल प्रशासनका अनुसार दैनिक साढे ३ सयको हाराहारीमा सेवा लिँदै आएका बिरामीको संख्या हाल ५०० नाघेको छ।
मौसमी रुघाखोकी, भाइरल ज्वरो, टाइफाइड र निमोनिया जस्ता संक्रामणजन्य रोगका बिरामी अचानक बढेका हुन्। मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालले भाइरल संक्रमण फैलन सक्ने जोखिम उच्च भएकाले सजगता अपनाउन आग्रह गरे।
“भीडभाडमा कम जानुहोस्, खानपानमा ध्यान दिनुहोस् र आवश्यक परे घरमै आइसोलेसन बस्नुहोस्,” डा. बरालले भने। उनका अनुसार बालबालिकामा निमोनिया र वृद्ध तथा युवामा भाइरल ज्वरोको प्रकोप बढेको छ।
अस्पताल प्रशासन शाखा प्रमुख दिनेश पण्डितका अनुसार चाडपर्वको समयसँगै अस्वाभाविक रूपमा बिरामीको चाप बढेको छ। “दैनिक करिब १५० जना बिरामी बढेका छन्,” उनले बताए।
चाडपर्वकै बेला बिरामी परेपछि उपचारका लागि अस्पताल धाउनु परिरहेको पीडा पनि देखिन थालेको छ। व्यास नगरपालिका–१४ की पार्वती मगर भन्छिन्, “छोरा बिरामी भएर भर्ना गर्नुपर्दा यो दसैंमा केही रमाइलो गर्नै पाइएन।”
स्वास्थ्यकर्मीहरूले चाडपर्वका बेला सतर्क रहन र सामान्य लक्षण देखिएमा ढिला नगरी अस्पताल जान सुझाव दिएका छन्।