काठमाडौं— वृत्तिविकास लगायतका मागहरू अघि सार्दै विद्युत् उत्पादन कम्पनी लिमिटेड (भियूसियल) का कर्मचारीहरूले कार्यालयमा ताला लगाएका छन्। व्यवस्थापनले मागहरू बेवास्ता गरेको भन्दै उनीहरूले कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन्।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (ट्रेड युनियन) ले कम्पनी व्यवस्थापनलाई ज्ञापनपत्र बुझाउँदै, आफ्ना दुई प्रमुख माग तुरुन्त सम्बोधन नगरे आन्दोलन थप चर्किने चेतावनी दिएको छ। युनियनले कम्पनीको मुख्य गेटमा ताला लगाएर कार्यालय पूर्णरूपमा बन्द गरेका छन्।
कर्मचारीहरूका अनुसार तह ११ सम्मका करार कर्मचारीहरूको कार्यसम्बन्धी मूल्यांकन मनोमानी ढंगले बनाइएको छ। यसले स्वीकृत कार्य विवरणसँग मेल नखाने, कार्यान्वयन गर्न गाह्रो पर्ने, र कर्मचारीहरूको सुविधा कटौती गर्ने उद्देश्य राखेको उनीहरूको आरोप छ।
त्यस्तै, आयोजनामा खटिने कर्मचारीहरूलाई दिइनुपर्ने यातायात सेवा र अन्य थप सुविधा सम्बन्धी निर्णयहरू अस्पष्ट र अव्यवहारिक रहेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
यसअघि नै प्रमुख कार्यकारी अधिकृत बखत बहादुर शाहीलाई ध्यानाकर्षण गराइएको भए पनि माग सम्बोधनमा कुनै पहल नदेखिएको कर्मचारीहरूको भनाइ छ।
आन्दोलनका कारण कम्पनीको दैनिक कार्यसञ्चालन प्रभावित भएको छ भने विद्युत् उत्पादनमा समेत असर पर्न सक्ने जोखिम देखिएको छ। हाल सीईओ शाही कार्यालयमा अनुपस्थित छन्, र कर्मचारीहरू कार्यकक्ष बन्द गरी चिया पसलमा समय बिताइरहेका छन्।
कम्पनीभित्रको आन्तरिक व्यवस्थापकीय असमझदारी सतहमा आउन थालेको यो घटनाले देखाएको छ कि कर्मचारी र व्यवस्थापनबीच संवाद अभाव र विश्वासको संकट बढ्दो छ।