बाजुरा— नेपालीहरूको महान चाड विजयादशमी र शुभदीपावली नजिकिँदै गर्दा बाजुराका बजारहरूमा विशेष चहलपहल देखिन थालेको छ। चाडपर्वको तयारीसँगै सदरमुकाम मार्तडीसहित जिल्लाका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रका बजारहरू किनमेल गर्न आएका उपभोक्ताले भरिन थालेका छन्।
मार्तडी, बाम्का, डाब, बेतालमाण्डौ, कोल्टी, पिलिचौर, धुलाचौर लगायत प्रमुख व्यापारीक केन्द्रमा उपभोक्ताको बाक्लो उपस्थिति देखिएको छ। विशेषगरी नयाँ कपडा, सुनचाँदीका गरगहना, मिष्ठान्न सामग्री, सजावटका सामानलगायतका किनमेलमा ग्राहक व्यस्त देखिन्छन्।
बाजुराको प्रमुख व्यापारीक केन्द्र मार्तडी बजारमा व्यापारीहरू चाडपर्वको लाभ लिंदै सन्तुष्ट देखिएका छन्। स्थानीय व्यवसायी जयराज उपाध्यायका अनुसार गत वर्षको तुलनामा यस वर्ष व्यापार झन्डै १० प्रतिशतले बढेको छ। “चाडपर्व नजिकिँदै गर्दा बजारमा चहलपहल निकै बढेको छ, व्यापार राम्रो चलिरहेको छ,” उनले भने।
तर, सामानको मूल्यवृद्धिले केही उपभोक्तालाई असर परेको छ। “मूल्य अलिक बढी भए पनि उपभोक्ता चाहिने सामान किनेरै लगिरहेका छन्,” उपाध्यायले थपे।
दशैं तिहारको अवसरमा विदेश तथा अन्य शहरबाट घर फर्किनेको संख्यामा समेत उल्लेख्य वृद्धि देखिएको छ। हाल दिनहुँ ५०० भन्दा बढी व्यक्ति बाजुरा प्रवेश गरिरहेका छन्। जसले गर्दा पहिलेसम्म सुनसान देखिएका गाउँबस्तीहरू अहिले पुनः जीवन्त बनेका छन्।
यद्यपि चाडपर्व नजिकिँदै गर्दा बजारमा चहलपहल बढिरहेको भए पनि चाडकै समयमा व्यवसायीहरू पनि गाउँ फर्किन थालेपछि बजार फेरि सुनसान हुने अनुमान गरिएको छ। विशेषगरी मार्तडी जस्ता व्यापारीक केन्द्रहरू चाड मनाउन व्यापारी बाहिरिएपछि केही दिनका लागि शान्त देखिन सक्छन्।
बाजुराका नौवटै स्थानीय तहमा दशैं–तिहारको स्वागत गर्न तयारि तीव्र गतिमा भइरहेका छन्। चाडपर्वले ग्रामीण बजारदेखि शहरी केन्द्रसम्म रौनकता ल्याएको छ भने स्थानीय व्यवसायमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ।