बाजुरा— नेपालीहरूको महान चाड बडादशैंको सुरुआत बाजुरामा अनौठो तर परम्परागत तरिकाले गरिएको छ। सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८ बाउलीका स्थानीयवासीहरूले एकआपसमा राँगा जुधाउँदै दशैंको स्वागत गरेका हुन्।
जहाँ अन्यत्र विजयादशमीको सुरुआत घरघरमा जमरा राखी र भगवतीको पूजाआराधनासँग हुन्छ, त्यहीँ बाजुरामा भने घटस्थापनाको अघिल्लो दिन राँगा जुधाएर चाडको आगमनलाई उत्सवमय बनाइन्छ।
स्थानिय धने थापाका अनुसार, यो परम्परा वर्षौँदेखि चलिआएको हो। लेकबाट भैंसी झारिएको बेला, गाउँलेहरूबीच राँगाको शक्ति परीक्षण गर्ने उद्देश्यले यो परम्परा सञ्चालन गरिन्छ।'कसले राँगा राम्रोसँग पालेको छ, कसको राँगामा कति बल छ भन्ने देखाउनको लागि यो जुधाइ गरिन्छ,' उनले बताए।
यस वर्ष पनि थापाबाडा र रावलबाडाका गाउँलेहरूबीच राँगाको भिडन्त गराइएको थियो। भीषण प्रतिस्पर्धापछि थापाबाडाको राँगाले जित हात पारेको थियो।
राँगा जुधाउने यो अभ्यास बाजुरामा केवल रमाइलोको विषय मात्र नभई सांस्कृतिक पहिचान र सामूहिक सहभागिताको प्रतीक बनेको छ। यसमार्फत स्थानीयहरूबीच मेलमिलाप, सद्भाव र साझा उत्सवको भावना झनै प्रगाढ हुने गरेको छ।