काठमाडौं— काठमाडौं महानगरपालिका अन्तर्गतको बानेश्वर क्षेत्रका केही भागमा आज कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेशअनुसार आज अपरान्ह १२ः३० बजेदेखि राति १०ः०० बजेसम्मका लागि कर्फ्यू लागु हुनेछ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१) बमोजिम जारी गरिएको उक्त आदेश अनुसार तोकिएको क्षेत्रभित्र मानिसको आवतजावत, कुनै पनि प्रकारको सभा, जुलुस, प्रदर्शन, घेराउ, भेला वा बैठक गर्न पूर्ण निषेध गरिएको छ।
कर्फ्यू लागु क्षेत्रहरू यसप्रकार छन्ः
बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,
बानेश्वर चोकदेखि पूर्वतर्फ मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,
बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,
बानेश्वर चोकदेखि दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म।
प्रशासनले सबै नागरिकलाई तोकिएको समयमा कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लंघन गरे कानुनी कारवाही हुने चेतावनी दिएको छ।

 
                     
                                        
                                                                                                 
        








 
        





























 
        