काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड'ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गरेको बताएका छन् ।

शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबूकमार्फत उनले सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्य गरेको बताएका हुन् । ुसंविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ,ु उनले लेखेका छन् ।

सामाजिक सञ्जाल प्रकाशन तथा प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको सरकारले अपव्याख्या गरेको उनको दाबी छ । 'सरकारको यो कदम संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई, सामाजिक सञ्जाल प्रकाशनरप्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या समेत हो,' उनले फेसबूकमा लेखेका छन् ।

सरकारको निर्णयले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र नभएर देशको अर्थतन्त्रलाई निरन्तर टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा सञ्चारलाई समेत जटिल र असहज बनाएको उनले बताएका छन् ।

संसद्‌मा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनु पर्ने उनको भनाइ छ ।'हाम्रो पार्टी सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमनको पक्षमा अडिग छ । त्यसैले संसद्‌मा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम हो,' उनले थप लेखेका छन् ।

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल खारेज गर्न पनि उनले सरकारसँग माग गरेका छन् । 'संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउँदै, यस निर्णय तत्काल खारेज गर्न जोडदार माग गर्दछु,' उनले लेखेका छन् ।