काठमाडौं— काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ध्वनि, धुवाँ र फोहोर प्रदूषणमुक्त छिमेकी अभियान थालेको छ । ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ अन्तर्गत प्रहरीले सहरवासीलाई ठूलो आवाज निकाल्नेदेखि बिहान अनावश्यक खोक्ने–खकार्नेसम्मका गतिविधि नगर्न आग्रह गरेको छ ।
प्रहरीका अनुसार ध्वनि प्रदूषणका कारण गर्भवती महिला, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको भन्दै यस्तो अभियान सुरु गरिएको हो ।
कार्यालयले पाँच मुख्य शीर्षकमा निर्देशन जारी गर्दै राति अनावश्यक आवाज नगर्ने, बिहानको शान्ति कायम राख्ने, गोपनीयतासम्बन्धी गतिविधिमा सचेत रहने, सामाजिकरधार्मिक कार्यक्रममा ध्वनि नियन्त्रण गर्ने र अन्य सावधानी अपनाउने अनुरोध गरेको छ ।
यस अभियानअन्तर्गत राति फोन कल गर्दा हेडफोन प्रयोग गर्न, ठूलो स्वरमा गफगाफ वा संगीत नगर्न, भाँडाकुँडाको ठूलो आवाज ननिकाल्न, गेट ढकढक्याउन वा बेल बजाउन रोक लगाइएको छ ।
त्यसैगरी बिहान अनावश्यक खोक्ने–खकार्ने नगर्न, सवारी स्टार्ट गर्दा ठूलो आवाज ननिकाल्न, राति अबेर शौचालय फ्लस गर्दा ध्यान दिन र बिहान सबेरै प्रेसर कुकरमा सिटी नलगाउन भनिएको छ ।
प्रहरीले ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायमार्फत ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने चेतावनी पनि दिएको छ ।