हुम्ला— हुम्लाको ताँजाकोट गाउँपालिकामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयासको आरोपमा तीन जना स्वास्थ्य संस्था कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्वास्थ्य चौकी इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार ती तीनै जनाले मदिरा सेवन गरेर पीडित स्वास्थ्यकर्मीको कोठामा प्रवेश गरी अभद्र व्यवहार गर्दै सामूहिक बलात्कार प्रयास गरेका थिए।
घटना मंगलबार राति करिब ११ बजे तिर भएको बताइएको छ। घटनाको जानकारी पाएपछि छप्रेला प्रहरी चौकीबाट खटिएको टोलीले तत्कालै तीनै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी शंकर पोख्रेलले जानकारी दिए।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ती कर्मचारीले पीडितमाथि विभिन्न प्रकारका यौन दुर्व्यवहार प्रयास गरेको खुलेको छ। पीडितले घटना भोलिपल्ट आफ्नो संस्थाको केन्द्रीय कार्यालयलाई जानकारी गराएपछि संस्थाले प्रहरीलाई सूचना दिएको थियो।
दुबै पक्षलाई जिल्ला सदरमुकाम सिमकोट ल्याएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।