काठमाडौं— वीरगञ्ज महानगर क्षेत्रमा हैजाको संक्रमण समुदायस्तरमै फैलिन थालेपछि नियन्त्रण र रोकथामका प्रयासहरू तीव्र पारिएका छन्। संक्रमणको चपेटामा परेका स्थानीय तहमा व्यापक जनस्वास्थ्य संकट उत्पन्न हुने चिन्ताबीच सरकारी तथा गैरसरकारी निकायहरू सक्रिय भएका छन्।

संघीय सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली आइतबारदेखि वीरगञ्जमा परिचालनमा छन्। ती टोलीहरूले हैजासम्बन्धी अवस्थाको स्थलगत अवलोकन गर्दै नियन्त्रणका उपायहरू कार्यान्वयन गरिरहेका छन्

यसै सन्दर्भमा सोमबार वीरगञ्जमा हैजा रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अधिकारीहरू, प्रदेश स्वास्थ्य निर्देशनालय, विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ), युनिसेफ, र वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका प्रतिनिधिहरू सहभागी थिए।

कार्यक्रममा सरोकारवालाबीच सूचना आदानप्रदान, स्रोत व्यवस्थापन, जनचेतनामूलक अभियान, र दीर्घकालीन रणनीतिबारे छलफल भएको जनाइएको छ।