काठमाडौं— काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूमाथि कारबाही सुरु गरेको छ। सार्वजनिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने भन्दै महानगरले धुम्रपान नियन्त्रणमा कडाइ थालेको हो।
आइतबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार सार्वजनिक स्थलमा धुम्रपान गर्ने व्यक्तिलाई प्रत्येकपटक ५ सय रुपैयाँ जरिवाना गरिने महानगर प्रहरीले जनाएको छ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार जनगुनासो र सार्वजनिक स्थानमा अत्यधिक धुम्रपानको अवस्था बढेपछि कडाइ गर्न यो कदम चालिएको हो। चालु आर्थिक वर्ष २०८२/८३ को महानगरको आर्थिक ऐनमार्फत यो प्रावधान लागू गरिएको उनले जानकारी दिए।