काठमाडौं— देशका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त भएका उपकुलपतिहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष उपकुलपतिहरूले शपथ लिएका हुन्।

शपथ लिनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्राडा. पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा. बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. भरत खत्री रहेका छन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरूलाई स्वच्छ, पारदर्शी र प्रभावकारी ढंगले काम गर्न शुभकामना दिएका थिए। उनले स्वास्थ्य शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन नयाँ नेतृत्वले ठोस भूमिका खेल्ने विश्वास व्यक्त गरे।