काठमाडौं— तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस बढेको भन्दै सतर्कता अपनाउन विज्ञले सुझाएका छन् । यो लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो ।
जनसुकै उमेर समूहका मानिसलाई यो रोग लाग्न सक्छ । तर, धेरैजसो १५ वर्षमुनिका बालबालिकालाई यो रोग लाग्ने गरेको चिकित्सक बताउँछन् ।
हाँस, कुखुराजस्ता चराचुरुंगी र सुँगुर–बंगुरजस्ता जनावरलाई टोकेमा लामखुट्टे संक्रमित हुन्छ । उक्त संक्रमित लामखुट्टेले मानिसलाई टोके यो रोग लाग्न सक्ने उनीहरूको भनाइ छ ।
विशेष गरी साउनदेखि कात्तिकसम्म देखिने जापानिज इन्सेफलाइटिस मानिसबाट मानिसमा सर्दैन ।
जापानिज इन्सेफलाइटिसमा बेस्सरी टाउको दुख्नु, उच्च ज्वरो, बेहोस हुने, घाँटी अररो (कडा), शरीर कम्पन, पक्षघातजस्ता समस्या देखिन्छ । समयमा उपचार नगरिए बिरामीको मृत्यु समेत हुनसक्छ । लामुखुट्टेको टोकाइबाट जोगिनु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले तराईका जिल्लाबाट जापानिज इन्सेफलाइटिसका बिरामी उपचारका निम्ति काठमाडौं आउने गरेका बताए । यो रोग लागेर बिरामी निको भए पनि स्नायुसम्बन्धी अपांगता हुन सक्ने उनले जानकारी दिए ।
सन् २००५ बाट नेपालमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप उपलब्ध भएकाले यसको संक्रमण खासै नदेखिएको उनको भनाइ छ । तथापि, पछिल्लो केही वर्षयता यसको संक्रमण दर बढेकाले रोकथाम र नियन्त्रणमा सरकार चनाखो हुनुपर्ने उनले बताए ।