पनौती— राष्ट्रप्रेम र शिवभक्तिको प्रतीक बनेको कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा मंगलबार ६.५ केजी शुद्ध चाँदीको “निशानी” भव्य रूपमा अनावरण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र श्री १००८ स्वामी रमणानन्द जी महाराजको संयुक्त हस्तबाट अनावरण गरिएको यो निशानी धार्मिक मात्र नभई राष्ट्रिय गौरवको परिचायकका रूपमा प्रस्तुत गरिएको छ।
यसअघि विश्वकै अग्लो त्रिशूल निर्माण, ७७ जिल्लामा रथयात्रा र राष्ट्रिय कोटिहोम जस्ता ऐतिहासिक कार्यहरू सम्पन्न गरिसकेको लड्केश्वर धामले यो अनावरणमार्फत आफ्ना गतिविधिहरूमा थप ऐतिहासिक अध्याय थपेको हो।
उक्त कार्यक्रममा प्रा.डा. भवानी खतिवडा, भारतका नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य ज्योतिषी लक्ष्मण पन्थी, राजनीतिज्ञ मधु आचार्य, पनौती नगरपालिकाका मेयर रामसरण भण्डारीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
पीठाधीश मुकुन्द शर्मा हुमागाईको अगुवाइमा अब “राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवं संकल्प यात्रा” देशका सबै ७७ जिल्लामा सञ्चालन हुने घोषणा गरिएको छ। यात्रामा लड्केश्वरको गरिमाको प्रतीक चाँदीको निशानी साथमा राखिनेछ, जसको दर्शन गर्न नपाएका श्रद्धालुहरूलाई पनि पुण्यफल प्रदान गरिने बताइएको छ।
गृह मन्त्रालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयमार्फत यात्राको सुरक्षा तथा व्यवस्थापन सुनिश्चित गरिने जनाइएको छ।
स्वामी रमणानन्द महाराजले राष्ट्रदेवसँग क्षमा याचना गर्दै सबै नेपालीलाई एकताबद्ध भएर समृद्ध नेपालको निर्माणमा लाग्न आह्वान गरे। मन्त्री पाण्डेले लड्केश्वर धामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रियस्तरमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले पशुपतिनाथ दर्शनसँगै लड्केश्वरको त्रिशूल दर्शनलाई पनि सजिलो बनाउन सरकार गम्भीर रहेको उल्लेख गरे।
शुद्ध चाँदीबाट बनेको निशानीको सार्वजनिक अनावरणसँगै लड्केश्वर धाम अब केवल धार्मिक केन्द्र मात्र नभई राष्ट्रिय पहिचान र गौरवको धरोहरका रूपमा स्थापित भएको स्पष्ट भएको छ।