मोरङ— जापानिज इन्सेफ्लाइटिसका कारण यो वर्ष ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङका २ जना र बाराका १ जना छन्। मृत्यु हुनेहरू क्रमशः १७, ४९ र ७४ वर्षका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०२५ को ७ महिनाको अवधिमा नेपालमा ३४ जनालाई जापानिज इन्सेफ्लाइटिस (जेइ) देखिएकोमा तीन जनाको मृत्यु भएको हो।
विज्ञहरूका अनुसार साउनदेखि कात्तिक (जुलाईदेखि अक्टोबर) सम्म नेपालमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण धेरै देखिन्छ। 'जेइ' का कारण मृत्युदर झण्डै ३० प्रतिशत रहेकाले समयमै पहिचान गरी उपचार गर्न सकेनौँ भने ठूलो क्षति हुन सक्छ।
स्वास्थ्य जोखिमका विषयहरूमा स्वास्थ्य पत्रकारहरूलाई अभिमुखीकरण गर्न स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन) सँग सहकार्य गर्दै आइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले सोमबार जापानिज इन्सेफ्लाइटिस रोगबारे जानकारी दिएको थियो।
सोही क्रममा डब्लुएचओ सर्भिलेन्स अफिसर डा. सोनिया भगतले लामखुट्टेले संक्रमित सुँगुर बंगुर, हाँस, बकुल्ला, वा जंगली चराहरूलाई टोकेर मानिसलाई टोक्दा यो रोग सर्ने जानकारी दिइन्।
'यो रोग सिधै एउटा मासिनबाट अर्को मानिसमा भने सर्दैन। यो रोगको प्रमुख बाहक क्युलेक्स जातको लामखुट्टे हो। जो खैरो रङको र लामा खुट्टा भएको हुन्छ,' उनले भनिन्, 'यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय देखिन्छ। धानखेत तथा पानी भएका तथा पानी जमेका क्षेत्रहरू, सुँगुर तथा हाँस फर्म नजिक भएका बस्तीहरू बढी जोखिमयुक्त हुन्छ।'
ज्वरो आउनु, टाउको दुख्नु, वाकवाकी लाग्नु वा बान्ता हुनु, कमजोरी महसुस हुनु जेईका सामान्य लक्षण हुन्। तर उच्च ज्वरो (१०२ डिग्री फरेनहाइट भन्दा बढी), टाउको बेस्सरी दुख्नु, शरीरमा कम्पन हुनु, अर्ध चेत वा बेहोस हुनु, शारीरिक कमजोरी वा पक्षघात हुनु वा कोमा पुग्नु यसका गम्भीर लक्षण हुन्।
सरकारले शिशु जन्मेको १२ महिनामा जापानिज इन्सेफ्लाइटिसविरूद्धको जेई खोप दिने गरेको छ। यदि १२ महिनामा छुट्यो भने ५ वर्षसम्मका बालबालिकाहरूलाई यो खोप दिने गरेको छ। सरकारले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत राखेर सिंगल डोजको यो खोप दिने गरेको हो। यद्यपी वयस्क तथा वृद्ध उमेरहरूका लागि यो सुविधा छैन। तर निजी स्वास्थ्य संस्थाहरूमा वयस्कलाई सस्शुल्क रूपमा खोप उपलब्ध छ।