काठमाडौं— नेपालले भारतमा विद्युत् निर्यात क्षमता विस्तार गर्दै थप २०० मेगावाट बिक्रीको अनुमति पाएको छ । 

भारत सरकारले नेपालका पाँच जलविद्युत् आयोजना लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादित विद्युत् खरिद गर्न स्वीकृति प्रदान गरेको हो ।

यो नयाँ स्वीकृति साउन २६ गते प्रदान गरिएको हो, जसको कार्यान्वयन मिति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२५ सम्म हुनेछ ।  

आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरिसकेको छ । थप निर्यात अनुमतिसँगै यो रकम आगामी महिनामा दोब्बर हुने अनुमान गरिएको छ । यसले  नेपाल–भारत विद्युत् व्यापारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

यसअघि भारत र बंगलादेशमा गरी ९४१ मेगावाट विद्युत् बिक्री भइरहेको थियो । त्यसमा २०० मेगावाट थप भएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । यससँगै नेपालले अब कुल एक हजार १४१ मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्न पाउनेछ ।