भक्तपुर— अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भक्तपुर नगरपालिकाले एक भव्य छिकोङ शारीरिक व्यायाम प्रदर्शन सम्पन्न गरेको छ। भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित भाजु पोखरीमा आयोजित सो कार्यक्रममा नगरपालिकाका १० वटै वडाका ५०० भन्दा बढी प्रशिक्षार्थीहरुले सामूहिक रूपमा छिकोङ अभ्यास गरेका हुन्।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवाल रहेका थिए। सांसद सुवालले शारीरिक र मानसिक स्वास्थ्यका लागि नियमित व्यायाम आवश्यक रहेको उल्लेख गर्दै युवाहरुलाई स्वदेशमै अवसर सिर्जना गर्न र राष्ट्र निर्माणमा अग्रसर हुन आग्रह गरे।
नगर प्रमुख सुनिल प्रजापतिले नगरबासीको स्वास्थ्य सुधारका लागि खेलकुद र व्यायामलाई प्राथमिकता दिइएको जानकारी गराउँदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा वडा नं। १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले युवाहरूलाई सामाजिक तथा राजनीतिक रूपमा सक्रिय बनाउने दिशामा नगरपालिका लागिपरेको बताए।
भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएको छिकोङ अभ्यास कार्यक्रम नगरस्तरमै उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ। यसले नागरिकको स्वास्थ्य र अनुशासनमा सकारात्मक प्रभाव पार्दै आएको छ भन्ने विश्वास व्यक्त गरिएको छ।