विराटनगर— मोरङको उर्लाबारी नगरपालिका–१ मेचेडाँगीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। जंगलबाट टिपेर ल्याइएको च्याउको तरकारी खाएको केही घण्टामै परिवारका सबै सदस्य बिरामी परेका हुन्।

बिरामी पर्नेमा ६९ वर्षीय लालबहादुर खड्का, उनकी ६८ वर्षीया पत्नी पवित्रा खड्का, ४२ वर्षीय छोरा शेरबहादुर खड्का, ३८ वर्षीय जंगबहादुर खड्का, र २४ वर्षीया बुहारी जानुका खड्का रहेका छन्।

उनीहरूले आइतबार राति जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए। च्याउ पकाएर खाएको केही समयपछि सबैमा उल्टी, टाउको दुख्ने र बेहोसजस्तो हुने लक्षण देखिएको प्रहरीले जनाएको छ।

हाल बिरामी परेका सबैलाई झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार शेरबहादुर र जानुका खडकाको अवस्था मध्यम छ भने अन्य तीनजनाको अवस्था सामान्य रहेको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। यस्ता विषालु च्याउले ज्यानसमेत जोखिममा पार्न सक्ने भएकाले जंगली च्याउ खानुअघि विशेष सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन्।