काठमाडौं— गाईजात्राको अवसरमा आइतबार राजधानी काठमाडौंमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले ‘प्राइड परेड’ निकालेर आफ्नो पहिचान, अधिकार र अस्तित्वका विषयमा सार्वजनिक सन्देश दिएका छन् ।
नक्सालस्थित नारायणचौरमा भेला भएर सुरु गरिएको ‘प्राइड परेड’ बसन्तपुरसम्म पुगेर दीप प्रज्वलनका साथ सम्पन्न गरिएको थियो । यस कार्यक्रमको आयोजना यौनिक तथा लैङ्गिक अल्पसंख्यकका क्षेत्रमा क्रियाशील संस्था ब्लु डायमन्ड सोसाइटीले गरेको हो ।
परेडमा सहभागी समुदायका व्यक्तिहरू विभिन्न जातीय पहिरनदेखि आधुनिक फेसनमा सजिएर र नारा सहित सहभागी भएका थिए । उनीहरूले गाईजात्रा जस्तै हास्यव्यङ्ग्यको माध्यमबाट आफ्नो पीडा, संघर्ष र पहिचानलाई उजागर गरेका थिए ।
ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष उमेश पाण्डे (उमिसा) ले गाईजात्रा उत्सवलाई समुदायको सामाजिक सन्देश दिन उपयुक्त माध्यमका रूपमा उपयोग गरिएको बताइन् । उनले भनिन्, ‘गाईजात्रा भनेको सुन्दर भएर मनाउने, हास्यव्यङ्ग्यदेखि पीडासम्म पोख्न पाउने चाड हो । हामीले २००१ देखि यो पर्वलाई हाम्रो अभियानसँग जोडेर मनाउन सुरु गरेका हौं ।’
उनले राज्य र समाजबाट अझै पनि यो समुदायलाई पर्याप्त साथ र स्वीकृति नपाएको गुनासो समेत गरिन् । ‘एउटा आमाले पनि अझै बुझ्न नसकेको अवस्थामा समाज र राज्यबाट त झन् धेरै अपेक्षा गर्न सकिँदैन,’ उनले भनिन् ।
उनका अनुसार, परिवारको अस्वीकार, समाजको तिरस्कार र राज्यको चुप्पीका कारण धेरै साथीहरूले आत्महत्या गर्नुपरेको, कतिपयले लकडाउन र भूकम्प जस्ता विपद्मा ज्यान गुमाउनुपरेको उल्लेख गरिन् ।
यस वर्षको प्राइड परेडमार्फत समुदायले ‘स्वतन्त्रताका साथ बाँच्न पाउने अधिकार, चाडपर्व मनाउने स्वतन्त्रता, र राज्यबाट समान व्यवहारको’ माग पुनः दोहो¥याएका छन् ।