काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ५ हाडीगाउँमा निर्माण गरिएको फल्चाको उद्घाटन गरिएको छ । शनिबार सम्पन्न एक कार्यक्रममा वडाध्यक्ष बिरेन्द्र प्रजापतिले फल्चाको उद्घाटन गरेका हुन् ।
समारोहमा वडाध्यक्ष प्रजापतिले हाडीगाउँको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्दै आधुनिक सुन्दर महानगर बनाउने उद्देश्यका साथ फल्चा निर्माण गरिएको बताए ।
उनले भने, ‘हामी निर्वाचित भइसकेपछि सुन्दर महानगर बनाउने हाम्रो केन्द्रिय नीति अनुरूप हाडीगाउँलाई विशिष्ट पहिचान दिन प्रयास गरिरहेका छौं । यो ठाउँलाई जीवन्त बनाउनु हाम्रो लक्ष्य हो ।’
उनका अनुसार फल्चा निर्माणमा करिब १५ देखि १६ लाख रुपैयाँ लागत लागेको छ । फल्चासँगै थप दुई संरचनाहरू पनि निर्माण गरिएको छ । वडाध्यक्ष प्रजापतिले फल्चा, पाटी, पौवा जस्ता परम्परागत संरचनाहरूलाई केवल भौतिक संरचना नभई सांस्कृतिक धरोहरका रूपमा समेत विकास गर्नुपर्ने बताए ।