नेपालगन्ज— बाँकेमा डेंगु र स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। पछिल्लो तीन महिनाको अवधिमा जिल्लामा २९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने ८९ जनामा स्क्रबटाइफसको शङ्कास्पद लक्षण देखिएको छ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्ज, सञ्जीवनी मेडिकल कलेज, कान्ति आरोग्य अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगायतका स्वास्थ्य संस्थाहरूमा डेंगु तथा स्क्रबटाइफसका बिरामी आउने क्रम तीव्र रूपमा बढिरहेको छ।

उनले बाँकेसहित बर्दिया, दाङ, कैलाली लगायतका छिमेकी जिल्लाबाट पनि बिरामीहरू उपचारका लागि नेपालगन्ज र कोहलपुरका अस्पतालमा आउने जानकारी दिए।

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा। राजन पाण्डेले डेंगु सङ्क्रमणका मुख्य लक्षणहरूमा अचानक ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछाडि दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिने बताए। उहाँका अनुसार पछिल्लो समय बालबालिकामा डेंगु र स्क्रबटाइफस दुवैको सङ्क्रमण देखिन थालेको छ।

किटजन्य रोग फोकलपर्सन दुर्गा गौतमका अनुसार पछिल्लो तीन महिनामा ५२८ जनाको डेंगु परीक्षण गरिएकोमा २९ जनामा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये नेपालगन्ज उपमहानगरपालिकाका १८ जना र कोहलपुर नगरपालिकाका ११ जना रहेका छन्।

भेरी अस्पतालमा १९ जनाको र मेडिकल कलेज कोहलपुरमा ३ जनाको उपचार गरिएको छ। त्यस्तै, स्क्रबटाइफसका लागि ७२९ जनाको नमुना परीक्षण गरिएकोमा ८९ जनामा शङ्कास्पद लक्षण देखिएको गौतमले बताए।

डेंगुबाट बच्न चिकित्सकहरूले शरीर पूरै ढाक्ने लुगा लगाउन, सुतेको बेलामा झुल प्रयोग गर्न र घर वरपर लामखुट्टे मार्ने औषधि प्रयोग गर्न सुझाव दिएका छन्।