काठमाडौं— विश्वकै अग्रणी डिजिटल पेमेन्ट कम्पनी भिसा इंकले नेपालमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ। काठमाडौंमा स्थापित उक्त कार्यालयमार्फत भिसाले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई अझ मजबुत बनाउन दीर्घकालीन प्रतिबद्धता व्यक्त गरेको छ।

नेपालस्थित नयाँ कार्यालयको नेतृत्वका लागि मनोज थापालाई नेपाल प्रमुखको जिम्मेवारी दिइएको छ। थापाले नेपालको फाइनान्स, डिजिटल पेमेंट र टेक्नोलोजी क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव संगालेका छन्।

नेपालमा भिसाको स्थायी उपस्थिति सुदृढ डिजिटल भविष्य निर्माणतर्फको ठूलो पाइला भएको बताउँदै यस यात्राको हिस्सा बन्न पाउँदा खुसी भएको बताए । थापाले भिसाको बङ्गलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बीर अहमदलाई रिपोर्ट गर्ने छन् । 

थापाले यसअघि विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमा कार्य गर्दै नेपालमा वित्तीय पहुँच विस्तार, डिजिटल कारोबारको विकास तथा साना तथा मझौला उद्यम (SMEs) लाई समावेशी वित्त प्रणालीमा जोड्ने काममा उल्लेखनीय योगदान पुर्याएका छन्।

भिसाका दक्षिण एशिया क्षेत्रीय उपाध्यक्ष टी.आर. रामचन्द्रनका अनुसार, नेपालमा स्थायी कार्यालय स्थापना गर्नु दीर्घकालीन प्रतिबद्धता हो । हामी नेपाल सरकार, नियामक निकाय, वित्तीय संस्थाहरू र अन्य सरोकारवालासँग सहकार्य गर्दै डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउन कार्य गर्दैछौं।

नेपालमा भिसाको स्थायी उपस्थिति भएपछि कम्पनीले स्थानीय साझेदारहरूसँग मिलेर ग्राहकको आवश्यकता अनुसार सेवा विस्तार, डिजिटल पूर्वाधारको सुदृढीकरण, तथा वित्तीय समावेशीतामा टेवा पुर्‍याउने लक्ष्य राखेको छ।