सिन्धुली— रोजगारीको प्रलोभनमा भारत पुर्याइएका सिन्धुली दुधौली नगरपालिका–१ निवासी ३४ वर्षीय खिलबहादुर भुजेलको एक मृगौला चोरी भएको खुलासा भएको छ। कामको खोजीमा पोखरा पुगेका भुजेललाई भारत लगेर मृगौला चोरी गरिएको हो।
भुजेल केही समयदेखि पोखराको पृथ्वीचोकमा ज्यालादारी कामको आशमा बसेका थिए। यही क्रममा २०८२ जेठ ३१ गते अपराह्न ४ बजे उनी बसेकै ठाउँमा आएको कालो रंगको गाडीबाट एक अपरिचित व्यक्ति झरेर होटलमा काम लगाइदिने भन्दै रोजगारीको प्रस्ताव गरेका थिए। सोही प्रस्तावमा सहमत भइ उनी गाडीमा चढेका थिए।
उनी भारतको एक स्थानमा पुर्याइएपछि खाना वा औषधिको माध्यमबाट बेहोस बनाइएर अप्राकृतिक शल्यक्रिया गरी एक थान मृगौला निकालिएको जनाइएको छ। भुजेलकी भाउजु सीता भुजेलका अनुसार उनी बेहोस अवस्थामा नै भारतमा करिब एक महिना राखिए। त्यसपछि उनलाई २०८२ साउन १७ गते शनिबार दिउँसो पुनः त्यही कालो गाडीमा ल्याई काठमाडौंको कलंकी चोकमा अचेत अवस्थामै छोडिएको थियो।
शरीरमा अस्वाभाविक घाउ देखिएपछि उनलाई २०८२ साउन १९ गते सिन्धुलीको डकाहा कमलाखोज सामुदायिक तथा अनुसन्धान केन्द्रमा स्वास्थ्य परीक्षण गराइएको थियो। परीक्षणका क्रममा चिकित्सक डा.नवीन बयरले उनको एक मृगौला निकालिएको पुष्टि गरेका छन्। डा. बयरका अनुसार बिरामीको पेटमा २० वटा टाँका भेटिएको छ।
पीडितको स्वास्थ्य अवस्था गम्भीर रहेको र हाल भारतमै उपचाररत रहेको परिवारले जनाएको छ। परिवारले अंग तस्करीमा संलग्न व्यक्तिहरूको खोजी गरी कानुनी कारबाहीको माग गर्दै नेपाल सरकारसँग औपचारिक पहल थाल्ने तयारी गरेको छ। साथै, घटनामा मानव तस्करी र अंग चोरीमा संलग्न गिरोह सक्रिय रहेको आशंका गरिएको छ।
यस घटनाले रोजगारीको सिलसिलामा भारत वा तेस्रो मुलुक पुग्ने नेपाली युवाहरू मानव अंग तस्करीको चपेटामा परिरहेका गम्भीर यथार्थ उजागर गरेको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा यस्ता आपराधिक क्रियाकलाप बढिरहेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।
यसैबीच, जिल्ला प्रहरी कार्यालय सिन्धुलीसहित सुरक्षा निकायले घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको बताइएको छ। भुजेल सम्पर्कमा रहेका व्यक्तिहरूको विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।