काठमाडौं – अब नेपालमा पनि उड्ने कार भित्रिएको छ । पहिलो पटक नेपाली बजारमा विद्युतीय उडान सवारीसाधनले इतिहास रच्ने भएको छ । नाडा अटो सो २०२५ मा प्रदर्शन गर्ने उद्देश्यले उड्ने कार नेपाल ल्याइएको हो ।
भदौ ३ देखि ८ सम्म काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी स्थलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने उक्त शोमा उड्ने कार राखिने भइएको छ । भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक स्वरूप दीपल ईभीटीओएल यूएभी नामक उड्ने कार प्रदर्शनीमा राखिने भएको हो । प्रदर्शनीमा पुगेर जो कोहीले कार अवलोकन गर्न पाउने छन् । शोमा जान इच्छुकले खल्ती एपमार्फत टिकटको अग्रिम खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
दीपल ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्प प्रालिले नेपालमा पहिलो उड्ने कारलाई प्रदर्शनीमा राख्ने भएको हो । नाडा टाइटल स्पोन्सरमा रहेको एमएडब्लूले भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक स्वरूप दीपल ईभीटीओएल यूएभी नामक उड्ने कारलाई रोमाञ्चक तरिकाले प्रस्तुत गर्न लागेको कम्पनीका प्रतिनिधि दिनेश सिकायुले बताए । अटो शोमा राखिने उड्ने कारहरूले हाम्रो कम्पनी कति भविष्यमुखी र दूरदर्शी छन् भनी देखाएको उनको भनाइ छ । ‘यसपटकको नाडा अटो शो अहिलेसम्मकै सबैभन्दा रोमाञ्चक हुने उनको विश्वास छ । यसैले यसपटक उत्कृष्ट अटोमोबाइलहरूसँगै भविष्यका उत्कृष्ट प्रविधिहरू हेर्ने मौका मिल्ने छ,’ उनले भने ।
दक्षिण एसियामै अटो प्रदर्शनीका नाममा भए पनि उड्ने कार भित्र्याउने पहिलो मुलुक नेपाल हुने भएको छ । उड्ने कार पूर्णरूपमा विद्युतीय छ । यो कारले ठाडो उडान र अवतरण गर्छ । यससँगै, आगामी दशकहरूमा सहरी गतिशीलतामा क्रान्तिकारी परिवर्तन ल्याउने नवप्रवर्तनको अपेक्षा यसबाट गरिएको छ । यसको निर्माण गर्ने चीनको ईभीटीओएल प्रविधि द्रुत गतिमा विश्वव्यापी नेतृत्वको रूपमा देखा परेको छ । चीनका केही कम्पनीहरूले उड्ने कारहरू निर्माण गरेसँगै त्यहाँका नागरिकले उड्डयन प्रशासनबाट परीक्षण उडान स्वीकृतिहरू पनि प्राप्त गरिसकेका छन् ।
नेपालमा उड्ने कार सञ्चालनको नीतिगत व्यवस्था नभएको जनाउ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले दिए । अहिले भने प्रदर्शनीमा मात्रै राख्न लागिएको उनले जानकारी दिए । उनी भन्छन्, ‘नेपालमा यस्तो कारका लागि नीति बनाउनु जरुरी छ । भविष्यमा यसबारे पनि ध्यान जानुपर्छ ।’