सुर्खेत –  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतको अभ्यासबाट पाठ सिक्दै आगामी वर्षको बजेट निर्माणमा थप सुधार गर्नु पर्ने बताएका छन् । 

कर्णाली प्रदेश योजना आयोगले गरेको कार्यक्रममा मुख्यमन्त्री कँडेलले सबै तहका सरकार र निकायबीच सहकार्य अपरिहार्यले मात्र कर्णालीको बिकासका लागि उपयुक्त योजना निर्माण गरि बजेट कार्यान्वयन गर्न सकिने बताए । 

प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारबीचको कामको प्रभाव जनताले एउटै आँखाले हेर्ने भएकाले योजनाको छनोट, कार्यान्वयन र मूल्याङ्कनमा एकरूपता र पारदर्शिता हुनु जरुरी रहेको बताए ।  

प्रदेशको समुचित विकासका लागि योजना छनोटदेखि बजेट विनियोजनसम्मको प्रक्रियामा सुधार आवश्यक रहेको उनको भनाई छ ।

कर्णाली प्रदेशको आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१ र कर्णाली प्रदेश आयोजना बैंक (कार्यसञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१“ को प्रारम्भिक मस्यौदामाथि आयोगले छलफल चलाएको छ । 

नेपाली काँग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले संकलनमुखि भन्दा आवश्यकता र प्रभावमा आधारित रहेर योजना बनाउनु पर्नेमा जोड दिए । 

नेकपा एमालेका सचेतक टेकराज पछाईले कार्यविधिको निर्माणले कर्णालीमा सुशासनको सकारात्मक संकेत दिएको बताउँदै, विगतमा भएका कमजोरीलाई सुधार गर्दै परिणाममुखी योजना कार्यान्वयनको कार्यविधिले आधार तयार गरिएको उल्लेख गरे । नेकपा (माओवादी केन्द्र) की प्रदेशसभा सदस्य उर्मिला विश्वकर्माले प्रस्तुत कार्यविधि र मापदण्डप्रति सन्तोष व्यक्त गर्दै यसलाई अझ सरल बनाउन गर्न सुझाव दिइन् ।