काठमाण्डौ । गोरखाबाट चितवनको नारायणगढ आइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खस्दै गर्दाको सीसीटीभी फूटेज बाहिरिएको छ। यो बस तनहुँको आँबु खैरेनी गाउँपालिका २ स्थित ऐन पहराको पार्किङबाट निकाल्ने क्रममा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । जसमा २ जनाको अवस्था गम्भीर छ ।
गोरखाबाट चितवनको नारायणगढ आइरहेको ग २ ख १०७७ नम्बरको बस सडकबाट मर्स्याङ्दीनजिकै ऐना पहरा भिरबाट खसेको तनहुँ प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरीका अनुसार घुम्न हिँडेका यात्रु बोकेर निस्किएको बस आरामका लागि रोकिएको थियो । रिफ्रेस गराएर स्टार्ट गर्दा बस ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको हो ।
सार्वजनिक भएको सीसीटीभी फुटेजमा उक्त बसलाई चालकले पार्किङबाट ब्याक गराइरहेको देख्न सकिन्छ । चालकले ब्याक गराउँदा नियन्त्रण गुमेर बस भिरमा खसेको बयान प्रहरीलाई दिएका छन् । उक्त सीसीटीभी फुटेजअनुसार बस ब्याक गरेको १० सेकेन्डमै सडकबाट सिधै तल गएर बजारिएको छ। बसले उकालो ठाउँमा रहेको पार्किङ छाडेर ओरालोतर्फ सडक छुनेबित्तिकै तीव्र गतिमा पछाडि सरेको थियो ।
सीसीटीभी फुटेजअनुसार ब्रेक फेल भएको थाहा पाएपछि यात्रु हामफालेको देख्न सकिन्छ । बस ब्याक गर्दा ब्रेक नलागेपछि थाहा पाएका यात्रुहरू ढोकाबाट सडकमा हुत्तिँदै हामफालिरहेका सीसीटीभीमा देखिएको छ । यसरी हामफाल्नेमा धेरै महिला छन् । सीसीटीभी फुटेजअनुसार ८ जना यात्रुले त्यसरी हामफालेका थिए ।
बस दुर्घटनास्थलमा भेटिएका ५ जनासहित कम्तीमा १३ यात्रु गोरखाबाट नारायणघाट आइरहेको अनुमान गरिएको छ। बसको अगाडिको भाग भासिएको अवस्थामा भिरमा अड्किएपछि क्रेनले तानेर निकालिएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार पार्किङमा राखेर झिक्ने क्रममा ब्याक गर्दा बसको ब्रेक फेल भएर खसेको हो । नियन्त्रणमा लिइएका चालकले पनि बस दुर्घटनाको कारण ब्रेक फेल भनेका छन् ।