नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टी सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी नदिने बताएका छन्।

पार्टीको विधानमा लगातार दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने व्यवस्थाका कारण देउवाले पद छोड्ने उनले स्पष्ट पारे। साथै, उनले पार्टीको महाधिवेशन निर्धारित समयभन्दा एक वर्ष पछि सर्ने समेत खुलासा गरे।

शनिबार भक्तपुरमा आयोजित नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिको तेस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री परियारले उक्त कुरा बताएका हुन्।

‘पार्टीको विधानमा लगातार दुई पटकसम्म मात्रै सभापति हुन पाउने व्यवस्था छ। सभापतिज्यू आफैँले पनि यो कुरा सार्वजनिक रूपमै भनिसक्नुभएको छ, त्यसैले १५औं महाधिवेशनबाट कांग्रेसले नयाँ सभापति पाउँछ,’ उनले भने। यद्यपि, नयाँ सभापतिको सम्भावित उम्मेदवारबारे भने उनले केही खुलाएनन्।

नियमअनुसार २०८२ मंसिरमा हुनुपर्ने महाधिवेशन सो समयमा सम्भव नभएको परियारले बताए। ‘विधानमा एक वर्ष पछाडि सार्न सकिने व्यवस्था छ। मंसिरमा बस्ने बैठकले महाधिवेशनलाई एक वर्ष पछि धकेल्ने निर्णय गर्नेछ,’ उनले भने। उनका अनुसार अब महाधिवेशन २०८३ मंसिरभित्र सम्पन्न हुनेछ।

कार्यक्रममा बोल्दै कांग्रेस भक्तपुरका जिल्ला सभापति एवं सांसद दुर्लभ थापाले पनि विधानअनुसार आफूले दुई कार्यकाल पूरा गरिसकेकाले पद छोड्ने बताए। तर, उनले विधान संशोधन भएमा आफू पुनः उम्मेदवार बन्न सक्ने पनि संकेत गरे। ‘विधान संशोधन भए म पनि पार्टी सभापतिका लागि लड्नुपर्ने हुनसक्छ,’ थापाले भने।