झापा — झापाको कचनकवल गाउँपालिकामा सिचाईंको मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ। घटनामा कचनकवल गाउँपालिका–७ सितागढीका ५५ वर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आज बिहान उनको शव घर नजिकैको खेतमा फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राजवंशीको मृत्यु सिचाईंको मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर भएको डीएसपी खगेन्द्र खडकाले जानकारी दिए।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

मृतक राजवंशी घरमा एक्लै बस्दै आएका थिए। उनका दुवै छोरा वैदेशिक रोजगारीमा छन् भने श्रीमती घरेलु विवादका कारण माइतीघर गएकी थिइन्।