काठमाडौं— देशभर डेंगी सङ्क्रमण तीव्ररूपमा फैलिन थालेको छ । पछिल्लो एक सातामा मात्रै १६१ जनामा डेंगी पुष्टि भएपछि कुल सङ्क्रमितको सङ्ख्या २ हजार १ सय ८१ पुगेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्लो साता मात्रै ६ वटा प्रदेशमा डेंगीका नयाँ केसहरू देखिएका छन् ।

प्रदेशगत रूपमा सबैभन्दा धेरै बागमती प्रदेशमा ९ जना नयाँ सङ्क्रमित भेटिएका छन् । त्यस्तै कोशी प्रदेशमा ५, लुम्बिनीमा ३, मधेश र कर्णाली प्रदेशमा समान रूपमा १–१ जनामा डेंगी संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै २४ जना नयाँ सङ्क्रमित थपिएको ईडीसीडीले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले अझै तीन महिना डेंगीको जोखिम उच्च नै रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

डेंगी सचेतना फैलाउन मन्त्रालयले ‘खोजौं र नष्ट गरौं’ राष्ट्रिय अभियान सञ्चालनमा ल्याएको छ । श्रावण महिनालाई डेंगी सचेतना महिना घोषणा गर्दै मन्त्रालयले घर वरपर रहेका पानी जम्ने स्थानहरूमा डेंगी फैलाउने लामखुट्टेका लार्भा खोजी र नष्ट गर्न नागरिक सहभागिताको अपिल गरेको छ ।

मन्त्रालयका अनुसार डेंगी नियन्त्रणका लागि सरसफाइ, लामखुट्टेबाट जोगिने उपायहरू अपनाउने र समुदायस्तरमा सचेतना बढाउन संयुक्त प्रयास आवश्यक छ ।