काठमाडौं— तीन वर्षे अध्ययन बिदा स्वीकृत गराएर विदेश गएका नेपाल टेलिकमका ६ वरिष्ठ इन्जिनियर अध्ययन सकिएपछि समेत नेपाल फर्किएका छैनन्। अध्ययन बिदा सकिएर स्वदेश नफर्किएपछि ती कर्मचारीहरूलाई टेलिकमले ३० दिनभित्र सम्पर्कमा आएर कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।
टेलिकमले शुक्रबार सूचना जारी गर्दै स्वीकृत अवधिभन्दा बाहिर थप बिदाको लागि दिएको निवेदन अस्वीकृत गरेको हो। कम्पनीले थप अध्ययन बिदा स्वीकृत गर्नुको औचित्य नरहेको उल्लेख गर्दै ३० दिनभित्र हाजिर नभएमा विभागीय कारबाही अघि बढाउने चेतावनीसमेत दिएको छ।
टेलिकमको मानव संसाधन विभागका अनुसार विदेश गएका कर्मचारीहरूमा हरिओम ढुङ्गाना, दीपककुमार निधि, प्रवीण माली, सागर मिश्र, राजेन्द्र पौड्याल र अविनाश बस्नेत रहेका छन्।
वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयमा कार्यरत ढुङ्गाना, र ब्याकबोन प्रसारण निर्देशनालयमा कार्यरत निधि, माली, मिश्र र पौड्याल अध्ययन बिदामा गएका थिए। त्यस्तै, आईएमयू इलाममा कार्यरत बस्नेत पनि अध्ययनका लागि विदेश गएका थिए।
कम्पनीका अनुसार, कर्मचारीले समयमै सम्पर्क नगरेमा निजामती सेवा ऐन, श्रम ऐन र संस्थाको आन्तरिक नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।