काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल अब इलेक्ट्रिक सवारीसाधन (इभी) को युगमा प्रवेश गरिसकेको बताएका छन्।
मंगलबार आयोजित महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री दाहालले, यद्यपि नेपाल केही पछि सुरु भए पनि हाल यातायात पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको बताए।
"पूर्वदेखि पश्चिमसम्मको राजमार्ग तथा उत्तर–दक्षिण करिडोरहरू आकर्षक ढंगले निर्माण भइरहेका छन्," उनले भने, "यो परिवर्तन द्रुत गतिमा अगाडि बढिरहेको छ।"
उनले यातायात क्षेत्रसँग सम्बन्धित सेवाहरू क्रमशः प्रदेश सरकारको अधिकारमा जाने जानकारी पनि दिए। उनका अनुसार साउन १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने अधिकार प्रदेश सरकारको हुनेछ।
मन्त्री दाहालले सार्वजनिक यातायातमा आधुनिक प्रविधि अनिवार्य गर्नुपर्ने आवश्यकता पनि औंल्याउँदै अब क्यासलेस (नगदरहित) प्रणाली लागू गर्नुपर्ने धारणा राखे।