काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ जीवनका लागि सन्तुलित खानपान, व्यायाम र आरामको सन्तुलन आवश्यक रहेको बताएका छन्। उनले चिकित्सकहरूलाई पनि अरुको उपचारसँगै आफ्नो स्वास्थ्यप्रति सचेत हुन सुझाव दिएका छन्।

सोमबार भाटभटेनी समूहद्वारा ९ करोड ५० लाख रुपैयाँ लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अघिल्लो कार्यकालमै "निरोगी नेपाल" को नारा अघि सारेको स्मरण गराए।

“निरोगी नेपालका दुई मुख्य पक्ष छन् — एक, बिरामी नै नपर्ने वातावरण बनाउने; र अर्को, बिरामी भए पनि शीघ्र उपचार हुने अवस्था सुनिश्चित गर्नु। अहिलेको अवस्थामा मान्छे निरोगी नहुनेजस्तो देखिएको छ, त्यसमा सुधार गर्न खानपान, काम र आराममा सन्तुलन कायम गर्न जरुरी छ,” प्रधानमन्त्री ओलीले भने।

उनले चिकित्सकहरूलाई पनि आफ्नै स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गर्दै भने, “डाक्टरले अरुको उपचार मात्र होइन, आफ्नो स्वास्थ्यप्रति पनि ध्यान दिनुपर्छ। व्यायाम, योग र प्राणायामलाई जीवनशैलीको हिस्सा बनाउनुपर्छ।”

प्रधानमन्त्री ओलीले सरकार निरोगी नेपाल अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको पनि बताए।