काठमाडौँ – झापा र रुपन्देहीमा आइतबार राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
झापाको बिर्तामोड नगरपालिका–१०, पथरभिट्टामा बसोबास गर्ने ५३ वर्षीय पुष्प पोखरेलको करेन्ट लागेर ज्यान गएको हो। आफ्नै निर्माणाधीन घरमा पानी हाल्नका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
त्यस्तै, रुपन्देहीको गैडहवा गाउँपालिका–६, लोधपुरवाका २५ वर्षीय अनिल प्रसाद मौर्यको पनि करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा टेबल फ्यानको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका मौर्यको उपचारका क्रममा भीम अस्पताल, भैरहवामा निधन भएको प्रहरीले जानकारी दिएको छ।