काठमाडौं— नेपाल टेलिकमले ललितपुरका विभिन्न क्षेत्रहरूमा आन्तरिक मर्मत सम्भार कार्यका कारण टेलिफोन, इन्टरनेट र टिभी सेवा केही समयका लागि अवरुद्ध हुने जानकारी दिएको छ।
टेलिकमको पाटनस्थित दूरसञ्चार कार्यालयका अनुसार आइतबार राति ११ बजेबाट सोमबार बिहान ६ बजेसम्म चक्रपथ पारिको एकान्तकुना, कुसुन्ती, महालक्ष्मीस्थान, नख्खुडोल र शोभाहिटी क्षेत्रका ग्राहकहरूले सेवा अवरुद्धको सामना गर्नुपर्नेछ।
यसपछि सोमबार दिनभर मंगलबजार, कृष्ण मन्दिर, पिमबहाल, नाःटोल र डौबहाद क्षेत्रमा सेवा प्रभावित हुने जनाइएको छ।
त्यस्तै, मंगलबारको दिन धोबीघाट, मलपोखरी, बागडोल र नख्खु विष्णुदेवी क्षेत्रमा पनि सेवा अवरुद्ध रहनेछ। टेलिकमले सार्वजनिक सूचना जारी गर्दै फाइबर टु द होम (एफटीटीएच) नेटवर्कको आन्तरिक मर्मत सम्भार गर्नुपर्ने भएकाले अस्थायी अवरोध हुने स्पष्ट पारेको छ।
सेवा पुनः सञ्चालन भएसँगै जानकारी गराइने टेलिकमले जनाएको छ र सेवाग्राहीहरूसँग असुविधाप्रति क्षमायाचना समेत गरेको छ।