ललितपुर, असार २७
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धि निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध राष्ट्र निर्माणका लागि उद्यमशीलताको विकास अत्यावश्यक भएको बताए ।
“हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ,” प्रधानमन्त्री ओलीले भने, “सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च प्राथमिकतामा राखेको छ । सम्मेलनबाट आउने निष्कर्षले सरकारलाई दिशा दिन सहयोग गर्नेछ।”
प्रधानमन्त्री ओलीले महिलाको सशक्तिकरणका लागि संविधानमा कानुनी व्यवस्था गर्दै व्यवहारमा पनि कार्यान्वयन गरिरहेको उल्लेख गरे ।
“हामीले तीनै तहमा कम्तीमा ३३ प्रतिशत महिला जनप्रतिनिधि सुनिश्चित गरेका छौँ,” उनले भने, “विद्यालयमा छात्राको संख्या छात्राहरूभन्दा बढी भएको छ, परिणाममा पनि छात्राहरू अघि छन् ।”
ओलीले आगामी दिनमा पनि अझ प्रभावकारी कदम चाल्दै समावेशी र समानतामूलक समाज निर्माणतर्फ अघि बढ्ने प्रतिवद्धता जनाए ।