काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको बताएका छन्।

शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा उनले आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त वृद्धिदर कायम हुने जानकारी दिए। गभर्नर पौडेलले भने, “नेपाली रुपैंयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अंकुशको रुपमा राख्दै अन्तरिम लक्ष्य यथावत राखिएको छ।”

साथै उनले बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तर बैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा कायम राखिने र स्वचालित, नियममा आधारित खुला बजार कारोबार निरन्तरता दिइने बताए।